′ म ′ माने एउटा मेच
एउटा आसन एउटा अडेस
तर छ एउटा महत्व विशेष
चार खुट्टा गतिशेष
′ म ′ माने एउटा मेच
′ म ′ माने एउटा मेच
एउटा आसन एउटा अडेस
तर छ एउटा महत्व विशेष
चार खुट्टा गतिशेष
′ म ′ माने एउटा मेच
"चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!"
"अँ, अन्नपूर्णाको दर्शन गर्न आएको; भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।"
"देवी त देवी टुँडालदेवीको मूर्ति पनि झन्डै चोरिएको रे। कस्तो काल! हामी केही नचोरियोस् भनी देवता पुकार्छौं, देवता स्वयं चोरिन्छन् हेर न ...!"
"हेरिसकें मैले, त्यही बेलबटम्वाली होइन? निकै नखरमाउली रहिछ।"
"जवाना भी यिनका जवानी भी यिनकी - बुझिनस्?"
"बुझें हजुर! रुपियाँको पाँच मुठा भयो, भयो लगिबक्स्योस्- पात राम्रो छ। बिग्रेको रहेछ भने म मोरीले यो जोवन भन्नै नपाऊँ। हजुरहरुलाई के थाहा छ, यति पात टिप्न कस्तो ...!"
"मलाई सब थाहा छ - उसको सम्बन्ध अचेल कतातिर छ भन्ने। अघिअघि सिद्धाको दशा लाग्यो भने आजको सुदामा भोलिको कुबेर हुन्छ भन्थे, अचेल सिद् (CID) मात्र हुन सके आजका बेकार भोलि तिनोटा कार हुन्छ।"
"सरकारी कारलाई साइड दिनुपर्छ भन्ने तँलाई थाहा छैन? दुई दिन टोयोटा चलाउन पाएँ भन्दैमा टुप्पिएको छुसी, तै, फुच्चाको खुट्टामात्र किचिएछ, ज्यान गएको भए ...!"
"... ज्यानको मूल्य मामुली भन्ने कि अमामुली? एकातिर गैसकेको ज्यानलाई मुटु फेरेर पनि जोगाइन्छ; अर्कातिर बम बर्साएर हजारौं ज्यानको एक चिहान पर्छ।"
"परे आफ्नो उपकार नपरे परोपकार। भाग्योदय चिट्ठा किन्नुहोस् भाग्योदय, - पहिला १ के एक लाख पच्चीस हजार।"
संसार विभागका निर्देशक श्री ईश्वरदेव उमेरको हदम्याद पुगी खोसुवामा परे। खाईपिई आएको आस्था अर्चनाको एक लक्षांश उनको निवृत्तभरणको रुपमा पाउने भए।
निर्देशकको पद खाली हुनासाथ रोल मेरो भनी अन्धविस्वासले दाबा गर्यो। धर्म धुमधुमती पर्यो, कर्म कनपारो कन्याउन थाल्यो। भाग्यले भगवानको साख्ये भाइ म हुँ भनी किरिया खायो। ज्ञान गनगन गर्दै थियो, विज्ञानले सबैको दाबी निराधार हुन् भनी एक-एकको पर्दाफास गर्यो। बुद्दि खितितित्त हाँसी, विवेक ट्वाल्ल पर्यो। भावना भागी संसार विभागको निर्देशकमा मान्छे स्वयं मनोनित घोषित भयो।
आफू निर्देशक हुनासाथ मान्छेले पाप धर्मको कानुन संशोधन गरी नरकअड्डा खारेज गरिदियो। मान्छेलाई धेरै शासन दिएको अभियोगमा यमराज सस्पेन्ड भए; अमृत र अप्सरामा लम्पट भएको अभियोगमा देवताहरु कार्यभारमुक्त भए। भाग्यको ठाउँमा पुरुषार्थ र अन्धविश्वासको ठाउँमा शिक्षा भर्ना भए।
एउटा हातमा शक्तिको ड्रम अर्को हातमा एटम बम लिएर विज्ञान सल्लाहकार भयो मान्छेको। संसार विभागको हर्ताकर्ता स्वयं भएकोमा गजक्क फुली टेबलमा थ्याच्च बसेर मान्छे गर्ज्यो - "संसार विभागका सहायिकाहरु को को छन्, लौ यहाँ आओ!"
हिन्दुहरुले साँढेलाई महादेवको निजी वाहनको पदमा नियुक्त गरिदिएका छन्। महादेवलाई वाहनको आवश्यकता थियो-थिएन दैव जानोस्,तर आफूलाई जेजे चाहिन्छ देवीदेवताहरुलाई पनि त्यही चाहिन्छ भन्ने मान्छेको धारणा रहँदै आएको छ। आफू घोडा, हात्तीमा चढ्ने हुँदा हाम्रा पुर्खालले आफ्ना देवीदेवताहरुको लागि पनि चढेर हिंडने एउटा जनावरको प्रबन्ध गरिदिएका छन्। जस्तै- विष्णुलाई गरुड, देवीलाई बाघ, यमराजलाई राँगो र गणेशलाई मुसो। आजको जमाना हुँदो हो त विष्णुलाई गरुडको सट्टा हेलिकोप्टर दिइँदो हो। यस्तै आरुलाई पनि दर्जा हेरी कार, स्कुटर, रिक्सा, साइकल आदि वितरण गर्दै गणेशजीलाई चाहिं गाडाकै प्रबन्ध गरिन्थ्यो कि? भन्नाको मतलब आजका हिन्दूले महादेवको बन्दोबस्त गर्नुपरेको भए वा महादेव अहिलेसम्म रहेका भए त्यही साँढे चढी के हिंड्दा हुन्? यताउति हिंड्न कमसेकम एउटा मर्सिडिज कार र हिमालयमा ससुराली जान एउटा विशेष किसिमको हेलिकोप्टर त उनीलाई चाहिन्थ्यो, चाहिन्थ्यो। तर जान दिऊँ उस बेला जे भयो, भयो। महादेवको विशेष वाहनमा श्रीमान् साँढे नै नियुक्त भयो।
त्यति उच्च ओहदामा नियुक्ति पाउने योग्यता साँढेसित के थियो र भन्ने प्रश्न उठाउने आवश्यकता नै छैन। कारण योग्यताभन्दा माथिका दुइटा महायोग्यता ऊसित थिए। पहिलो त साँढे भनेको गाईको साक्खै लोग्ने हो, उसकी श्रीमतीसिति आमाजस्तै एउटा धार्मिक साइनो हाम्रो लागेको छ। यही साइनोले उपल्लो नातेदार भएको साँढेलाई तल्लो ओहदामा राख्ता उसको प्रतिष्ठा घट्ने कुरा त छँदै छ, दुनियाँमा नसनाताको महत्त्व नासिंदै जान बेर छैन। साँढेको अर्को महायोग्यता हो उसको फुँकार। आध्यात्मिक जगतमा ओंकारको जति महत्त्व छ व्यवहारिक जगतमा फुँकारको उत्तिकै महत्व छ भन्ने कुराको ज्वलन्त प्रतीक साँढेले पाएको सम्मान हो। ऊ रुष्ट भयो भने पर्खाल भत्काउन, बाली बेमाख पार्न र फाँक्क र फुँक्क गरी मान्छे हान्न सक्छ, त्यसैले उसलाई एउटा माथिल्लो पदमा सुशोभित गरिदिन पाए जुरो नचाउँदै जिभ्रो मिठ्याइरहन्छ, सायद यही सोचेर उसलाई त्यत्रो ओहदा प्रदान गरिएको हि कि? जे होस्-
साँढेको नेतृत्वमा गएको पशूहरुको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दख्खिन ढोका घचघच्यायो। पशुपतिले यसो हेरेका मात्र के थिए, जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको नेताले नम्रतासाथ भन्यो - "तपाईं पशुका पति भएर पनि हामी पशुहरुमाथि कनुनै वास्ता गरिदिनुभएन। तपाईंले पुलपुल्याइदिंदा आज मान्छेले गर्नुसम्म गरिसक्यो। रिसानी माफ हुन्छ भने हामी समस्त पशुहरुको एउटै आवाज छ - मान्छे मात्तियो, मात्तियो तर पशु बिचरो आत्तियो।"
यो मोरो पशुको जात, जहिले पनि रङ्ग न ढङ्गको कचकच गर्न आउँछ भन्ने ठानी पशुपतिले झर्किएर सोधे - "आखिर तिमीहरुको समस्या के हो?"
साँढेले भन्यो - "हामी फाँटको फाँट मडिया मार्ने साँढेजातिलाई कान्जीहाउसभित्र थुनेर दुई मुठा परालमा बाँच भन्छ- आजको स्वतन्त्रताप्रिय भनाउँदो मान्छे।" साँढेको कुरामा संशोधन थप्तै गोरुले भन्यो - "होइन हजुर! वास्तविक मर्कामा परेको पशु त अझ म
पो छु। जमिन जोत्नेको हुन्छ भनी नारा लाग्दछ तर जमिनको खास जोताहा मलाई मुखमा पेरङ्गो बाँधिदिन्छ - आजको समाजवादी मान्छे।" साँढे र गोरु आँखा पल्टाउँदै थिए, वानर उफ्रेर पशुपतिका अगाडि पुग्यो। उसले अर्जी गर्यो - "हामी विश्वका समस्त वानरजाति घरबारहीन छौं, तर हाम्रो यो समस्या हेरिदिंदैन- आजको विश्वबन्धुत्ववादी मान्छे।" यत्तिकैमा गैंडा र ग्राहको संयुक्त डाँको सुनियो - "हामीलाई जङ्गल र जलमा पनि चुपचाप बाँच्न दिंदैन - आजको शान्तिवादी मान्छे।"
एक त आफ्नो जातै वीर, दोस्रो वीरबाहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि !
कत्राकत्रा युद्द, महायुद्दमा वीरता देखाउन सक्नेको सन्तान, एक बटुको खोले पियोस् वा हाफ प्लेट छोलेको भरमा जिओस्, यति मामुली कुरामा केको खोजीनिती ? अझै मेरो वीरतामाथि विश्वास छैन भने हेर्न आउनुहोला, बाजेले बर्माको लडाइँमा वीरगति प्राप्त गरी कमाएको वीरचक्र अहिलेसम्म चूलोमाथिको दलिनमा घुसारेको छँदै छ ।
त्यसैले त हो, रोग लागेको बेलामा पनि सौभाग्य मिले वीर अस्पतालै पुग्न पाइन्छ जहाँ औषधिले रङ्गाएको उही वीरधाराको निर्मल जल कैयौँ वीरहरुले प्रत्यक दिन सितैमा सुर्क्याउन पाउँछन्, जसमध्ये म पनि एक हुँ । तर मेरा कुनैकुनै साथी यस्ता निर्दोष छन्, वीरको अस्पताल पुग्न छाडेर रोगाएको एक महिना नहुँदै डाक्टर-पूजा गर्न थाल्छन् । यो कुरा मलाई पटक्कै मन पर्दैन र म भन्छु- नामर्दको ओखती पो नमर्दै हुन्छ त,मर्दको ओखती मर्दा भोलिपल्टसम्म गरे हुन्छ बाबै! कतिपय साहित्यकार,कलाकार आदिले समेत अबलम्बन् गरेको यो सिद्दान्त आफूले छाड्ने कसरी? आखिर बेकार भए पनि म एउटा कार हुँ,लुरे भए पनि वीर जातिको आकार हुँ ।
नेपालमा पनि सौन्दर्य प्रतियोगिता हुने भएको छ भन्ने सुन्दा नेपाली सुन्दरसुन्दरीहरु दसैँ पेस्की मिनाहा पाउने हल्ला सुनेका कर्मचारीझैँ भित्रैदेखि प्रफुल्ल भएका थिए । तर, सो नहुने भन्ने सुन्नासाथ अघिल्लो दिन नम्बर निस्केर भोलिपल्ट संशोधनमा परी फेल भएका विद्यार्थीझैँ एकै पटक खङ्र्याङखुङ्रुङ भइहाले । स्वास्नीलाई ‘नेपाल-सुन्दरी’ बनाउन पाए आफू पनि ‘नेपाल-सुन्दर’ भएर हङकङदेखि हलिउडसम्म घुमौँला भन्ने कति श्रीमान्हरुको योजना त्यसै गरी भत्कियो, जसरी त्यति काम गरिदिन पाए बङ्गला बनाउन पाइन्थ्यो भनी कसिएका कर्मचारीको सपना एक्कासि खोसुवा पुर्जी पाउँदा भत्किन्छ ।
सौन्दर्य प्रतियोगिता नहुने भन्नासाथ मलाई पनि मेरो भाउजूले भन्नुभयो – “के गर्ने बाबू, कमसेकम तपाईं पनि नेपाल-सुन्दरीको देवर भनेर आफ्नो ख्याति फैलाउन त पाउनुहुन्थ्यो । तर, के लाग्यो पाइएन । बढ्नै आँटेको ख्याति खोसिँदा कसलाई खिन्नता नलाग्ला र ?” यस्तै खिन्नता मनाउँदामनाउँदै दुई-चार जना बुज्रुग साथीले प्रस्ताव ल्याए- “हेर्नोस् गणेशज्यू, सौन्दर्य प्रतियोगिता त धेरै देशमा भएको थोत्रो कुरा हो, हामी कसैले अहिलेसम्म कहीँ नगरेको एउटा नयाँ प्रतियोगिता गरौँ ।” कुरा राम्रो हो । “अहिलेसम्म कतै नभएको त एउटा विकृति प्रतियोगिता छ । त्यही गर्ने कि ?” सबैले ताली दिएर सहमति जनाए । अब उक्त प्रतियोगितामा कस्तालाई भाग लिन दिने त भन्ने छानबिन गर्ने र पहिला-दोस्रा छुट्टयाउने कामको लागि कमिटी बन्यो । देशमा दिनको सत्रोटा कमिटी बन्दा पनि आफूलाई सदस्यसम्म हुन नपाएको झोकले मलाई पनि साह्रै रिस उठिरहेको थियो । यसैले विकृति प्रतियोगिता कमिटीको अध्यक्षमा मैले आफ्नै नाम प्रस्तुत गरेँ ।
दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।
म थिएँ त्यस बेला बेनामी अड्डाको बहीदार । अड्डा बेनामी भन्दैमा आफू पनि बेनामी थिएँ भन्ने नसम्झनुहोला नि । खासखुसबहादुर खतिवडा भनेपछि सिंहदरबारदेखि लिएर कमिलाकुटीसम्म मलाई नचिन्ने कोही थिएन । बाहिर छउन्जेल घुम्ने, भित्र छउन्जेल उभ्ने भएकोले कोही मलाई बहीदारको सट्टा फुइँदार पनि भन्ने गर्थे । तर के गर्नु र ! प्रमोसन पाउने बेला भयो कि आइपुग्थ्यो अर्कै जगरसेठ, कहिले नेतामार्का, कहिले नातामार्का ।
मलाई एक दिन झोकै चल्यो, दर्जाको पछाडि एउटा ‘टर’ नझुन्डिएको जागिर के खानु ? किनभने जमानै ‘टर’ को छ हेर्नोस् न- मिनिस्टर, डाइरेक्टर, इन्सपेक्टर, मास्टर, डाक्टर, एडिटर, अडिटर इत्यादि । पुलिस इन्सपेक्टर नपाए बस कन्डक्टर नै सही, एडिटर नपाए कम्पोजिटर नै सही, एउटा ‘टर’ त झुन्ड्याउनै पर्छ बा ! यो जाबो बहीदार सधैँको दिक्दार । यस्तै कुरा सोच्तै मकैमार्का बेसनको लड्डु खाएर चुइँचुइँ कराउने साइकिलरुपी छुचुन्द्रोमा गणपति लम्केझैँ ढल्किँदैढल्किँदै हल्लिरहेको थिएँ ! नयाँसडकको मूल ढोकैमा प्रसिद्ध नेता कछुवाकान्त कार्की भेट भए । साइकिलबाट ओर्ह्लंदै नमस्कारपूर्वक मैले सोधेँ- “नेताजी कता ?”
एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर झ्यालको डँडाल्नीमा ट्वालट्वालती हेरेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँ झुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामार नोटसँग तुलना हुन सक्छ ?
धत्, बहुला कहाँको !! मैले आफैँलाई हप्काएँ, तर हप्काउँदाहप्काउँदै मानौँ नाइटैदेखि तुलबुलीको एउटा कस्तो मुस्लो उठयो भने बसेको ठाउँमा बस्नै नसकी जुरुक्क उठेँ, भननन्न एक पटक कोठामा भौँतारिएँ । झुन्डिएजति कोट, पैन्ट, कमिज, बुससर्ट सबका खल्तीखल्ती छामेँ, एउटा टफी कताबाट अड्केको रहेछ क्वाप्प मुखमा हालेर मर्मरी चपाएँ । तैपनि तुलबुलीको रन्को छुटेन । अनि दराज, तखता, खोपा, मेच, बाकस, झ्याल, ढोका सबका अन्तरकुन्तरतिर हात घुसारेँ अस्ति नै हरायो भनेको एउटा काँगियो पाइयो, ककसले खसालेर नभेट्टाएका दुई-तीनओटा दुईपैसे, चारपैसे र पाँचपैसे ढयाक भेटिए । टेबुल र खाट सारेर मुन्तिरका घुरान केलाएँ- एउटा भाँच्चिएको होल्डर, दुई-चारओटा गोरखापत्र, समीक्षा र नयाँ समाजको पत्र, साँचो हराएको एउटा ताल्चा, दुइटा बेजोडा मोजा, एउटा कालो रिबन यस्तैयस्तै अर्थ न बर्थका सत्र थोक फेला परे, तर खोजेको जे हो सोचाहिँ हात लागेन । हैरान भएर एक गिलास पानी तन्न पिइदिएँ र तन्द्रङ्ग पल्टिएँ त्यही भताभुङ्ग ओछयानमाथि । प्रश्न फेरि दोहोरियो- हँ, अहिले मलाई के चाहिएको त ? सुर्केस खोलेँ भने गैँडामार नोट कसो ननिस्केला, जे भए पनि महिनाको पहिलै साताको जागिरदार पो त ! बैँसदार मायालुकै कुरा गरुँ भने कमसेकम आफ्नी पर्मानेन्ट त तुरुन्तै एभाइलेबल । यी दुई थोक पाएर पनि यो तुलबुली किन, यो छटपटी किन ? किन भनूँ ? दानापानीको, सेक्सपानीको र अहंपानीको प्यासभन्दा बेग्लै (?) त्यस बेला मलाई सताएको थियो अर्कै प्यासले, माने- एक सर्को चुरोटको प्यासले । त्यसकारण ओठ न नोट, म धुइँधुइँती खोज्दै थिएँ चुरोटको एउटा ठुटै भए पनि कतै अलमलिएको छ कि भनेर ।
“भान्सा भो हजुर ?”
आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्जे साहूको आवाज गुञ्जिन आइपुग्छ । निद्रा भट्टीवाल्नी कान्छीझैँ हत्त न पत्त घैँटो लुकाउँदै जीउ टकटक्याउँछे, सपनाहरु पुलिसको आवाज सुनेका जुवाडेहरुझैँ कोही खाटमुनि लुक्छन्; कोही झ्यालबाट हामफाल्छन् । पिलिक्क आँखा उघार्दा मिलिक्क उही बूढो साहू महिना सुनाउन आएका बाजेझैँ बिपना सुनाउन भित्र पस्छ ।
झोकको झन्झावातमा मगज यस्तरी झन्झनाउँछ कि जुरुक्क उठेर साहूजीका चाउरीएका गालामा चडयामचडयाम हिर्काउँदै जबाफ दिऊँ- ‘कौवाले समेत जलपान नगर्दै तेरा बाबुले भान्सा गर्छ लट्ठू !’ तर बोल्न नपाउँदै केटाकेटीनै उसलाई उल्याउन थाल्छन् । म आफ्नो झोक तकियामै बिसाएर सिरकले गुम्लुङ्ग मुख छोपी आफू नब्यूँझेको बहाना गर्छु । किनभने एकैछिनको ध्यानदृष्टिले मलाई यो तथ्य पत्ता लगाउन गाह्रो पर्दैन- साहू अहिले भान्सा भएको-नभएको सोध्न आएको किमार्थ होइन, ऊ त अघिल्लै महिना भान्सा गरेको एक मुरी चामलको उधारो उठाउने उद्देश्यले मलाई ओछयानैमा उठाउन आइपुगेको हो । त्यसैले देशको एउटै प्रश्नबाट नेताहरुले बेग्लाबेग्लै अर्थ झिकेझैँ साहूजीले एकाबिहानै सोध्न आएको ‘भान्सा गर्नुभो’ भित्र धेरैधेरै अर्थ लुकेको मैले पाएँ । पहिलो त हो- उसले कति दिन मेरा भान्सा चलाइदिएको थियो । ऊजस्तो अन्नदाता साहूकहाँ मुखै नदेखाई अचेल म कसरी भान्सा गर्छु ? न हिजोअस्ति मेरो परिवारले भान्सै गरेको छैन कि ? म एउटा जागिरजीवी अधिकृत, पसलेको उधारै नखाई महिनाभर भान्सा गर्न-गराउन सक्छु र ? उसको सोधाइको अझ सबभन्दा चुरो अर्थ के होला भने आफूले उधारो भान्सा गरेबापत उसलाई तिर्नुपर्ने रुपियाँ यतिन्जेल नतिरेकोले त्यसको पनि मैले भान्सा गरिदिएँ कि ? उधारो खाने पनि कुनै निश्चित समय र स्थान हुन्छ र ? उधारो, रीन, घूस, कमिसन, नाफा, नजराना भन्ने कुरा कौवाको बच्चाले जलपान नगर्दै खाए पनि हुन्छ रे, लाटाकोसेराका बच्चाले न्यासध्यान नगर्दै सिद्ध्याए पनि हुन्छ रे । यसरी रहस्य उघार्दै जाँदा उसले एकाबिहानै भान्साको प्रश्न उठाएबापत उठेको झोक नशाले छाडेपछिको आत्मज्ञानझैँ आत्मग्लानिमा परिणत हुन्छ । म सिरकभित्र दुम्सीले झैँ जीउ खुम्च्याएर दम्पच पारी आफूलाई लुकाउन खोज्छु, तर हिजो बेलुका गरेको काँचोकचिलो भान्साले भुँडीभित्रैबाट ध्वालालल्ल गरी शौचालयको निम्ता दिन्छ ।