क.
प्राची सुत अति प्रतिभ प्रतापी दिव्य दिवसको अब अवसान !
आलोक प्रवच्चित आशामुख छन् सविषाद गवाही गाढा !
किरण दृष्ण ती तुहिन महीधर मौन खडा छन् मुख म्लान !
रुदित वाग्मती–जल छटपटले विलपी बग्दछ टाढा !
ख.
निशिचिर–शान्ति–पिपासा–पीडित थकित विहङ्गम उड्छ उदास !
दूरवर्ती अविदित घरतिर, भ्रमण बिसाउन व्योमपथी !
उड्डीन दिवाको अनुचर आत्मा, अहार्य नियमको यौटा दास !
भ्रमण–बिसाउनी आर्यघाटमा मै पनि घोरिरहेछु बसी !
ग.
बादलको त्यो वाष्पिल जीवन पर्वतमा जो अवलम्बित
अनलाहुत भएर खरानी–रङ्गमा परिणत, हुन्छ विलीन !
परिवर्तनको करले अगोचर, रुपरागले चिररञ्जित
दृश्यपटमा हुन्छ, मिटाई सजीवमा अब ! जगत् मलिन !