मैले पिएकोमा रिसाउने साथीहरु
पिएर त हेर पिउन कती गाह्रो छ
ब्यर्थै शहिद बन्ने साथीहरु
जिएर त हेर जिउन कती गाह्रो छ(भुपी शेर्चन)
बाँच्ने आधार बनाउन यहाँ
सुख्खा मरुभुमी
कयौ सागर पारी
गुलामहरुको पनि गुलाम बनेर
निरलज्जा दासत्व स्विकार्नु पर्छ
हरेक प्रहर,हरेक पलपलमा
देश दुखेको हुन्छ
भाषा दुखेको हुन्छ
धर्म दुखेको हुन्छ
दुखाइ भित्र आर्तहरुमा
हिमाल रोइरहेको हुन्छ
पहाड,तराइ रोइरहेको हुन्छ
नेपाल रोइरहेको हुन्छ
करुण चित्कारका साथ
भोलिको उज्ज्वल भविष्य माग्दै
अनी
स्वाभिमानी शिर झुकाउदै
तातो मरुभुमी माथि
नांगो पाउ बिसाउदै
गन्तब्य बिहिन यात्रामा
चौपायाहरु नियाल्दै
त
कती सडक छेउछाउ
धरतीको छाती छिचोली रहेका हुन्छन्
सागर निल्ने प्यास लाग्दा
आकाश खाने भोक लाग्दा
न त सुस्ताउने चौपारी भेटिन्छ
न त थकाई मेट्ने न्यानो काख
टुक्रा-टुक्रा गरेर ढुङ्गा फोरेसंगै
मुटु फोडिन्छ,रेटिन्छ
त्यही माथी बचनका प्रहारले
आलो घाऊ माथी नून छरे झै
छाती चराइरहेको हुन्छ
यस्तो बेला म पिउन बस्दा
ब्यर्थै रिसाउने साथीहरु
एकपल्ट पिएर त हेर
पिउन कती गाह्रो छ
ब्यर्थै शहिद बन्ने साथीहरु
जिएर त हेर जिउन कती गाह्रो छ
सन् २००८ तिर स्व. कवि भुपी शेर्चन ज्यूको हरफ सापटी लिएर लेखेको यो कविता कस्तो भा'को छ, खै कुन्नी ! आशा छ, सही सुझाव दिनु हुनेछ ।