भर्खरै साँझ परेको थियो ।
छिमेकी घरमा दमकल, एम्बुलेन्स, प्रहरीका दर्जनौँ कार एक्कै पटक ट्याँट्याँ र टुँटुँ गर्दै घेर्न आइपुगे ।
के बित्यास प्रयो अब !
झ्यालको पर्दा हटाएर हेरेँ । आफ्नै स्वदेशी धनाढ्यकी छोरीको घरमै बित्यास परेको देखेँ । नेपालदेखिकै छिमेकी, संयोग पनि कस्तो, यहाँ पनि छिमेकी बन्न पुगेका थियौँ हामी । तर रिमाको वैभवको घमन्डले कहिल्यै पनि मानवसुलभ दोहोरो कुराकानी हुन पाएको थिएन ।
रिमाका पितामाता आउँदा भने ‘यसो हेरविचार गरिदिनुहोला किरणजी, नादान छे मेरी छोरी’ भन्थे । घरमा आएर चिया खान्थे । यो छोरीका लागि के गरेनन् उनले— एकएक कथा सुनाएका थिए । बाबुआमाको मन न हो !
सधैँ हतारमा देखिने रिमासित भेट्ने, कुरा गर्ने मौका कहिल्यै जुर्न सकेन । उनी अलि टाढै रहन रुचाउने स्वभावकी हुन् । त्यसो त आफू पनि १२ घण्टा बाहिर काममा हुने मानिस— अमेरिकाको दैनिकी, त्यो पनि हामीजस्तो आप्रवासीका लागि....
यो कस्तो संयोग ? काठमाडौँमा मेरो डेराअगाडि नै रिमाका बाबु हरिलालको आलिशान महल थियो ।
सपनामा पनि कल्पना गर्न नसक्ने सम्पन्नता अनि आधुनिकताको नाममा विकृत जीवनशैलीको प्रत्यक्ष दर्शक थियो किरण । आफ्ना बाबुआमाले कुटोकोदालो, मजदुरी गर्दै ऋण काढेर उसलाई उच्च शिक्षा हासिल गरी ठूलो मान्छे बन्न सपनाको भारी बोकाएर सहर पठाएका थिए । सहरको त्यो भव्य महलकै अगाडि भाडाको एउटा अँध्यारो कोठामा किरणको जीवन चलेको थियो । त्यही कोठाबाट रिमाको शानसौकतको संसार देख्ने गरेको थियो किरणले ।
‘मर्डर, सी अलरेडी डेड’ किरणको कानमा प्रहरीको सेटमा भएको संवाद ठोक्किन पुग्यो ।
म झस्किएँ । के रिमाकै हत्या भयो त ? मेरा हात–गोडा भासिएझैँ भए । ढोका खोलेर बाहिर निस्कन लागेको मात्र थिएँ तर प्रहरीले रोक्यो । म भित्र पसेर के भयो, कसो भयो होला भनी सोच्न
थालेँ ।
टक्...टक्...टक्... ढोकामा प्रहरीले आवाज दियो ।
मलाई ढोकाभित्रै उभ्याएर प्रहरीले सोध्यो, “यो घरमा बस्नेको बारेमा केही थाहा छ ? तिमीले केही सुन्यौ ? देख्यौ ?”
“त्यो घर रिमाको हो । उनी नेपालबाट आएकी हुन् । म उनलाई नेपालदेखि नै चिन्छु ।” मैले बताइदिएँ ।
प्रहरीले भन्यो, “सरी, सी नो मोर लङ्गर ।”
उनको हत्या भएको जानकारी प्रहरीले दियो, जसको सङ्केत किरणले पहिले नै पाइसकेको थियो ।
घण्टौँ लगाएर प्रहरीको अनुसन्धान प्रक्रिया पूरा भएपछि रिमाको
लासलाई प्रहरीले एम्बुलेन्समा राखी लिएर गए । मैले रिमाका बाबुलाई फोन गरेर घटनाको बारेमा सुनाइदिएँ । प्रहरीले पनि ‘सक्छौ भने खबर गरिदेऊ’ भनी अनुरोध गरेको थियो ।
त्यो रात मात्र होइन, कैयौँ रात म रिमाको अतीतलाई स्मरण गर्दै जाग्राम बसेँ ।
रिमाका आमाबाबुको माया, लगानी, त्याग; उफ् ! के गर्ने ? सबै लेखा रहेछ पूर्वजन्मको भाग–भोग ।
रिमाका बारेमा एकएक विषय किरणका आँखाभरि घुम्न थाले । देशको प्रतिष्ठित व्यापारी हरिलालको सबै केन्द्रीय नेताहरूसित पहुँच थियो । प्रत्येक हप्ता पालैपालो देशका प्रशासक, सुरक्षा प्रमुख, ठूलठूला नेताहरूको जमघट हुन्थ्यो हरिलालको घरमा । रिमा हरिलालकी एक मात्र छोरी ! एउटा दाजु थियो सुरज । सम्पन्न घरकी लक्ष्मीको रूप मानिएकी रिमाको पढाइ नाम चलेको महँगो स्कुलमा हुनु स्वाभाविक थियो । सुरक्षा गार्डका साथ स्कुल जाने–आउने व्यवस्था गरेका थिए हरिलालले ।
समयको निरन्तरतासँगै रिमा ठूली हुँदै गइन् । रोशन नामको सहपाठीसित उनको हिमचिम बढ्न थाल्यो । ऊ लागू औषधको अम्मली थियो । रोशनसितको सङ्गतले रिमा पनि उही लतमा फसेकी थिइन् ।
रोशन र रिमा लुकीछिपी लागू औषध सेवन गर्ने साथी मात्र थिएनन्, आत्मीयताले पनि गहिरो सम्बन्ध बनाइसकेको थियो । दुवैले कलेजको पढाइ सकिनेबित्तिकै दुवै परिवारको सहर्ष सहमतिमा भव्य रूपले विवाह गरेका थिए । देशका ठूलठूला व्यक्तित्वहरूको घुइँचो थियो विवाहको पार्टीमा । दैवको नियति, लागू औषधको अम्मली रोशनको विवाह भएको दोस्रो वर्ष नपुग्दै अचानक हृदयाघात भई मृत्यु भयो ।
अब रिमाको मानसिक तनाव बढ्दै गयो । कहिले ड्राइभर त कहिले नोकरलाई पठाएर लागू औषध मगाउन थालिन् । कोठामा अनुमतिबिना कसैलाई छिर्न बन्द गरिएको थियो । रिमाको त्यो हर्कत उनका ससुराले थाहा पाए— ड्राइभर अनि नोकरले सबै बताइदिएका थिए । रिमाका ससुराले ड्राइभर र नोकरलाई निकालि त दिए तर लागू औषधबिना बाँच्न गाह्रो भइसकेकी रिमा अब कहिले स्वयम् जान्थिन् त कहिले फोन गरेर मगाउने गर्थिन् ।
घरमा अपरिचित मानिसहरूको आवतजावत बढ्न थाल्यो । मूल्यवान् चिजहरू गायब हुन थाले ।
अरू छोराबुहारीहरूले चिन्ता गर्दै घरमा नराख्न दबाब दिन थाले । बाध्य भएर रिमाका ससुराले उनलाई माइतीमा प्रुयाई सबै कहानी सुनाइदिए ।
माइतीको सहाराको आशा राखेकी एक मात्र प्यारी छोरी रिमालाई बाबुआमाले पनि घरमा राख्न नसक्ने भए ।
दाजुभाउजूले पनि लागू औषधको अम्मल र अस्वाभाविक व्यवहारले गर्दा बदनाम मात्र होइन, भर्खरका बच्चामा समेत नराम्रो असर पर्छ भन्दै रिमालाई घरमा नराख्न अनुरोध गरे ।
बाबुआमाको जोरजुलुमलाई छोराबुहारीले ‘हामी वा रिमामध्ये एक रोज्न’ धम्कीपूर्ण सुझाव दिएपछि हरिलालले सोचे— छोरीलाई अमेरिका पढ्न पठाइदिने, त्यहाँ उनको यो आदत पक्कै छुट्छ, छोरी सुध्रिन्छे ।
छोरीका लागि घर किनिदिए । खर्च चलाउन ग्यास स्टेसन किनिदिए हरिलालले— ‘लौ, राम्रोसित पढ छोरी, मेरो इज्जत राखिदेऊ !’ उनी नेपाल फर्किए ।
रिमा भने जस्ताको तस्तै, न त पढ्न गइन् न त व्यवसायमै ध्यान दिन्थिन् ।
रिमाको फजुल खर्च र लागू औषधको लत घटेन, बरु बढ्यो ।
रिमाको लापरबाहीले व्यवसाय वर्ष दिन पनि टिक्न सकेन, घाटामा जान थाल्यो ।
हरिलाल फेरि आए, व्यवसाय बेचिदिए— ‘म नेपालबाटै आवश्यक खर्च पठाइदिन्छु, राम्रोसित पढ, यो लत छोडिदेऊ’ भनी बिन्ती गरे ।
बिस्तारै रिमाको सम्पर्क एउटा सज्जन केटो जोनसित भयो । यो सामीप्य विवाहमा परिणत पनि भयो । रिमाको दैनिकी राम्रैसित चलेको थियो । असल केटो पाएर ऊ खुसी थिई । जोन रिमालाई माया गर्थ्यो । बाबुआमाको मायाले छुटाउन नसकेको उनको लागू औषधको लत जोनको सहयोग र माया अनि अनुरोधले छुट्यो ।
रिमा अब आफ्नै खुट्टामा उभिने प्रणका साथ नर्सिङ स्कुल जान थालिन् । त्यहाँ रिमाको हिमचिम अर्को सहपाठी डेभिडसित बढ्न थाल्यो । डेभिड पनि लागू औषधको अम्मली रहेछ । उसकै बहकाउमा फेरि रिमा पुरानै आदतमा पुगिन् । डेभिडसितको गहिरो सम्बन्धले जोनप्रति रिमाको अस्वाभाविक व्यवहार र चिढचिढाहट सुरु भयो । जोनले रिमासित छोडपत्र मागे, रिमाले पनि खुसीसाथ स्विकारिन् । जोन रिमाको घरबाट निस्कियो ।
रिमा पढाइ छोडेर नयाँ प्रेमीसँग घरमै रमाउन थालिन् । डेभिडले नसाको अम्मल मात्र होइन, लागू औषधको व्यापारै गर्न थाल्यो रिमाको पैसामा ।
तर घटनापछि डेभिड भेटिएन । हप्ता दिनपछि प्रहरीले डेभिडलाई पक्राउ गरेपछि बल्ल वास्तविकता थाहा भयो— त्यो बीभत्स घटना भएको दिन डेभिडले ड्रग्स किन्ने पार्टीलाई घरमै बोलाएको रहेछ ।
ठूलो रकमको ड्रग्स किन्ने पार्टीले नक्कली नोट दिएको विषयमा विवाद हुँदा हातपात भएछ । छुट्ट्याउन गएकी रिमालाई गोली लाग्यो । डेभिड र पार्टी दुवै भागेका थिए— प्रहरी आइपुग्नुभन्दा अगाडि नै ।