मेरो रुप देखी लजाउ भन्थी ।
मुटु भरी नाम सजाउ भन्थी ।।
चङ्गा सरी यो मन उड्दा ।
खस्न नपाई समाउ भन्थी ।।
तीम्रो धैर्यता को बान्ध फुटे ।
घुम्टो ओढाइ भगाउ भन्थी ।।
मेरो रुप देखी लजाउ भन्थी ।
मुटु भरी नाम सजाउ भन्थी ।।
चङ्गा सरी यो मन उड्दा ।
खस्न नपाई समाउ भन्थी ।।
तीम्रो धैर्यता को बान्ध फुटे ।
घुम्टो ओढाइ भगाउ भन्थी ।।
दिन ढल्यो, रात छायो, उनकै याद आयो ।
एक्लै-एक्लै अँधेरीमा, यो तन छट्पटायो ।।
हेर्छु फोटो मध्यरातमा, टुकी बत्ती बाल्दै,
विछ्यौनामा ढल्छु फेरी, सिरानी अंगाल्दै ।
मिलनका ती आशाहरु, आशा मै बिलायो ।
एक्लै-एक्लै अँधेरीमा, यो तन छट्पटायो ।।
निदाउदैनन् नयनहरु, बर्बराउछन् ओठ ,
झर्छ आँशु सम्झी-सम्झी, विछोडका चोट।
चोटै चोट्ले घायल् मुटु, कुटु-कुटु खायो
एक्लै-एक्लै अँधेरीमा, यो तन छट्पटायो ।।
यो नव वर्षको, शुभकामना छ है
खुसी र हर्षको, शुभकामना छ है
शान्ति र संबिधान, लडेरै ल्याउँला
सफल संघर्षको, शुभकामना छ है
निकालौं साथी हो, निकास देशमा
उचित निष्कर्षको, शुभकामना छ है
मिलौँ सबै जना, भातृत्व भावले
विचार विमर्शको, शुभकामना छ है
आजभन्दा छयालीस वर्ष जति पुरानो सम्झना हो यो । वि. सं. २०१२ आश्विन ८,२३, २७ र कात्तिक १७ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्रिचन्द्र कलेजमा बी.ए. तृतीय वर्षको कक्षामा अङ्ग्रेजी साहित्यका क्लासिसिज्म र रोमान्टिसिज्म विषय र तत् विषय धाराका कविता बारेमा पढाउनुभएको थियो । सो कक्षाको मेरो क्लास नोट कापी मसँग अद्यापि मौजुद छ । त्रिचन्द्र कलेज भवनको तेस्रो तलामा रहेको 'कैलास कोठा' भनिने १२ नं को कोठामा वी.ए. तृतीय वर्षको कक्षा हुन्थ्यो । सो लामो कोठा घण्टाघरको ठीक उत्तरतिर सँगै रहेको मूल सडकबाट टड्कारै देख्न सकिन्छ। त्यसबखत् अङ्ग्रेजी साहित्य विषय सबै विद्यार्थीले पढ्नुपर्ने अनिवार्य विषय थियो । काठमाडौँ उपत्यकाभित्रका र उपत्यका बाहिरका ठाउँठाउँबाट उच्चशिक्षा पढ्ने विद्यार्थीहरू सबै त्रिचन्द्र कलेजमै भर्नाहुन्थे । महाकवि देवकोटाले लिने अङ्ग्रेजी साहित्य विषयको कक्षामा प्रायः सबका सब विद्यार्थीहरू करिब दुई सय जना उपस्थिति हुन्थे- रुजु हाजिर हुन्थे नै । कक्षा समयभर त्यो लामो कोठा भरिपूर्ण हुन्थ्यो ।
महाकवि देवकोटा बाइस्कल चढेर त्रिचन्द्र कलेजमा पढाउन आउनुहुन्थ्यो । बाह्र नम्बरको कैलास कोठामा कक्षा लिन दुईदुईवटा बडेमाका काठका भर्याङ उक्लेर उहाँ ठीक समयमै (दोस्रो पिरियडको समय १०.४५ बजे) कक्षा कोठामा प्रवेश गर्नु हुन्थ्यो । हामी विद्यार्थी आदरपूर्वक उठेर उहाँलाई अभिवादन गर्थ्यौँ । देवकोटा सर उभिएरै पढाउनुहुन्थ्यो ।
कालो घुँग्रिएको माझ र पछाडितिर छाल तरङ्गझैँ देखिने कपाल नै उहाँको शिरपोस श्रीशोभा थियो । सेतो सफा दौरा सुरुवाल, मोजा र पालिस लगाएर टल्काइएका जुत्तासहितको राष्ट्रिय पोसाकमा उहाँ आउनुहुन्थ्यो । सादा जीवन, उच्च विचारको भावना र आदर्श । उच्च स्वस्थ कल्पना, सिर्जनशील प्रतिभा र विद्वत्ताले धप्प जल्दाबल्दा सौम्य एवं भद्र व्यक्तित्वको चहकमहकले त्यो लामो कक्षाकोठा नै उज्ज्वल भएको प्रतीत हुन्थ्यो मलाई ।
घटना मातृकाबाबु प्रधानमन्त्री हुँदाको हो । पूर्वराजा ज्ञानेन्द्रकी आमाको विवाह श्री ५ महेन्द्रसँग भएपछि कारणवश उनको मृत्यु भयो । तत्पश्चात् श्री ५ महेन्द्रले स्वर्गीय महारानीकै बहिनी रत्नसँग प्रेम भएको हुनाले बिहे पनि उसैसँग गर्छु भन्ने अठोट गरेका थिए । यता त्रिभुवनचाहिँ त्यो घरमा वा त्यस केटीसँग बिहे नहोस् भन्ने चाहन्थे । उनले छोरालाई सम्झाए । भने, "हाम्रो पनि त कतिसँग प्रेम भयो होला, के तिनलाई बिहे गरेर साध्य हुन्छ । अथवा, ल प्रेम भयो भने ठीकै भयो, बिहे गर तर राजगद्दीमा राख्ने टाइपकी अर्की मैले रोजेकी केटीसँग बिहे गर ।"
तर, राजा महेन्द्र टसका मस भएनन् । यस विवाहमा राजा त्रिभुवन र उनकी रानीको घनघोर विमति थियो । यस कुरालाई साम्य पार्न, मातृकाप्रसाद, सूर्यप्रसाद आदि गएका थिए तर उनीहरूले समाधान दिन सकेनन् । महेन्द्रकी आमाले त केसमेत भन्न भ्याइन् भने यदि महेन्द्रले रत्नसँग विवाह गर्यो भने उसले राजगद्दी नै त्याग्नुपर्छ । यस्तो कुरा सुनेपछि मातृका, सूर्यप्रसादलाई आश्चर्य लाग्नु त स्वाभाविक थियो । तर, महेन्द्रले मानेनन् । उनले पनि अड्डी नै लिए र केही मानिस लिएर नागार्जुनमा गई रत्नसँग विवाह गरे ।
बाहिरबाट हेर्दा मात्रै हो दरबारयिा शानशौकत तर भित्री रूपमा तिनीहरू अत्यन्त पीडित हुन्छन् । मैले त त्यस्तो नै सोच्ने गरेको छु र वास्तविकता पनि यही नै हो । जब मैले ती सब कुरा थाहा पाएँ अनि मैले राजा त्रिभुवनलाई यो त राम्रो भएन । युवराजलाई राजगद्दीबाटै बेदखल गर्ने कुराले त सरकारको इज्जत-प्रतिष्ठामा आँच पुर्याउँछ भनेपछि सो विवाहप्रति अनिच्छुक हुँदाहुँदै पनि त्यस हदसम्म नजाने सोचचाहिँ बनाए । तर, त्यो विवाहमा आफू कतै संलग्न भएनन् । राजहठ भनेको सायद यही र यस्तै होला ।
एक जमाना थियो । पद्म कन्या क्याम्पसलाई पद्म कन्या कलेज भनिन्थ्यो र त्यसको पढाइ अहिलेको शङ्करदेव क्याम्पसमा हुने गर्दथ्यो । प्रिन्सिपल हुनुहुन्थ्यो अङ्गुरबाबा जोशी । कलेजका छात्राको निर्धारित पोसाक थियो । गेरुआ रङ्गको साडी र प्राध्यापक राष्ट्रिय पोसाकमा कक्षामा पढाउने गर्दथे । महिला प्राध्यापकका लागि पनि गेरुआ रङ्गको साडी नै नियमित रूपमा निर्धारित थियो । ठट्टाको भाषामा यसलाई 'सन्यासिनीको सुन्दर कलेज' भनिन्थ्यो । अङ्गुरबाबा जोशीको अनुशासन प्रियता प्रशंसनीय थियो । हरेक शुक्रबार कलेजमा नैतिक प्रवचनको कार्यक्रम नियमित रूपमा हुने गर्दथ्यो । स्टाफ मिटिङ पनि प्रत्येक महिनाको एक दिन निर्धारित गरिएको थियो । तत्कालीन भारतीय राजदूत राजबहादुरकी छोरी मेरी छात्रा थिइन् । कहिले काहीँ राजदूत महोदयसँग भेटघाट हुन्थ्यो । उनी भन्ने गर्दथे- नेपाल र भारतबीच संसारको कुनै पनि शक्तिले हिमालय खडा गर्न सक्दैन ।(हिन्दीबाट अनुवाद)
कलेजका भाइस प्रिन्सिपल थिए इन्द्रराज मिश्र । उनी पछि नयाँ दिल्लीस्थित नेपाली दूतावासमा सांस्कृतिक सहचारी भएर गएका थिए । म चार वर्ष पद्म कन्या कलेजमा पढाएपछि कोलम्बो योजनाअन्तर्गत दिल्ली विश्वविद्यालयमा विद्यावारिधिको उपाधि हासिल गर्नका लागि गएँ । सम्भवतः २४ अक्टुबर सन् १९७१ संयुक्त राष्ट्र सङ्घ दिवस थियो । म हवाइजहाजबाट काठमाडौं, बनारसमा विमान अवतरण गर्दै आगरा हुँदै दिल्ली पुगेँ । इन्द्रराज मिश्रले मलाई आफ्नो गाडीमा हालेर दिल्ली विश्वविद्यालय परिसरमा पुर्याई दिनुभयो र सम्बन्धित पदाधिकारीसित परिचय पनि गराइदिनुभयो । त्यसैताका भारत र पाकिस्तान बीच लडाइँ सुरु भयो । दिनहुँ साइरन बज्नु र ब्लैक आउट हुनु नियमित प्रक्रिया नै भयो । म भयग्रस्त भएँ । एक दिन म इन्द्रराज मिश्रलाई दूतावासमा भेटेर मलाई काठमाडौं फर्काइ दिने कुरा गरेँ । उहाँले आश्वासन दिनुभयो । केही हुँदैन बस्नुस् भन्नुभयो तर मभित्रै मनबाट भयाक्रान्त थिएँ ।
बीपी कोइरालाको पहिलो काठमाडौँ आगमन र उहाँसँग जोडिएका केही रमाइला प्रसंग मेरो स्मृतिपटमा ताजै छन् । कृष्णप्रसाद भट्टराईलाई साथ लिएर बीपी काठमाडौँ आउँदा उहाँहरूलाई भूमिगत राखेर सुरक्षाको बन्दोबस्त मिलाउने काम तत्कालीन नेपाली कांग्रेसका 'कोरग्रुप'का सदस्यका अतिरिक्त संगठन विस्तारमा लागेका हामीहरू जस्ताकै थियो ।
विसं २००४ को दसैँ-तिहारतिर हुनुपर्छ, बीपी बनेपा हुँदै काठमाडौँ प्रवेश गर्नुभयो । उहाँहरूको उद्देश्य संगठन विस्तारका साथसाथै केही व्यक्तिहरूलाई भेटेर पूर्णकालीन कार्यकर्ता बनाउने र पार्टी सञ्चालनका निम्ति चन्दा संकलन गर्ने पनि रहेछ । उहाँ काठमाडौँ छिरेपछि हामीले कहिले डिल्लीबजार त कहिले मैतीदेवी, कहिले असन त कहिले इन्द्रचोकका भित्री घरहरूमा बस्ने प्रबन्ध मिलायौँ । कहिलेकाहीँ त मुख्य सडकसँगै जोडिएका घरहरूमा पनि राख्यौँ, ताकि कसैलाई शंका नहोस् । त्यसै क्रममा उहाँ केही समय पूर्णबहादुर एमएको घरमा पनि बस्नुभयो ।
कतिपय अवस्थामा बीपीलाई हामीले वहालबाला कर्मचारीकै घरमा पनि लगेर राख्यौँ । त्रिरत्न साहूका अतिरिक्त डिल्लीबजारका सूर्यबहादुर बस्नेतको घर बीपी कोइरालाका लागि उपयुक्त स्थल हो भन्ने हाम्रो बुझाइ थियो । तर दुर्भाग्य, त्रिरत्न साहूको घरबाटै बीपी पक्राउ पर्नुभयो । उनी जवाहरातका व्यापारी थिए । बीपीसँग उनको कलकत्तामै छँदा चिनजान भएको रहेछ । उनले दुःखका बेला कहिलेकाहीँ सहयोग गरेका पनि रहेछन् । पछिसम्म पनि बीपी उनको कुरा गररिहनुहुन्थ्यो ।
वि.सं. २०६७ कात्तिक ४ गते झमक घिमिरेको घर पुग्दा बिहानको साढे दस बजेको थियो । धनकुटा ३ कचिडेस्थित उनको घर मलाई आज अरू दिनभन्दा शान्त स्निग्ध र सफा लागिरहेको थियो । म यो चौथो पटक झमकको घर जाँदैछु । आज म उनको घर पुगिने सल्लेरीको वनको बाटो नगएर उनकै घरभन्दा झन्नै एक किलोमिटर माथिको गाडी स्ट्यान्डमा हिले वसन्तपुर जाने माइक्रो बसबाट ओरालो झरेर गएको थिएँ । कटेरा मास्तिरको बाटो देखिनै सफा पारेर बढारिएको थियो । ढुङ्गा छापेको आँगनको एक छेऊमा चकटी ओछ्याएर झमक र उनकी कान्छीबहिनी अनामिका बसिरहेका थिए ।
मैले उनलाई देख्ने वित्तिकै "नमस्कार" भनेँ । उनले मलाई आदरपूर्वक हेरेर अलिकति मुस्कुराइन् । तत्कालै कान्छीबहिनी उठेर उनको कोठामा गइन् र एउटा कापी, डटपेन र झमकको चस्मा ल्याइदिइन् । तबसम्म मैले "धनकुटामा धेरै जाडो भइसकेको छ कि क्या हो ? घाम तापेर वस्नु भएको रहेछ ? " भनेर प्रश्न गरिसकेको थिएँ । उनले खुट्टाले चस्मा लगाइन्, खुट्टाले नै डटपेन च्यापिन् र खुट्टैले कापीका पाना पल्टाएर "नमस्कार" लेखिन् र फेरि "धनकुटामा जाडो हुन थालिसकेको छ । बिहान बेलुका निकै जाडो हुन्छ ।" लेखिन् ।
मलाई अनामिकाले झमक भएकै ठाउँ आँगनमा कुर्सी ल्याइदिइन् र मैले उनको चर्चित कृति "जीवन काँडा कि फूल" को कुरा उठाएँ । "तपाईंको त्यो चर्चित कृति दुईपटक पढिसकेँ, त्यो कृतिमा मैले ग्रहण गर्ने कुरालाई साधा धर्कोले रेखाङ्कन गरेको छु । तपाईंका लेखाइसँग असहमत भएका अनुच्छेद, वाक्य वा शब्दलाई प्रश्नवाचक चिन्ह दिएर रेखाङ्कन गरेको छु भनेर सुनाएँ र मैले रेखाङ्कन गरेका ठाउँ देखाएँ ।
हात् को रेखा मेटी आफ्नो भाग्य मेट्ने भए !
किन पुँज्थे ढुंगा साक्षात्, दैव भेट्ने भए !
देखाउँ म कसो गरी, माया तिमी लाई ?
रेट बरु करौती ले, घाँटी रेट्ने भए !
अमृत झै मिठो हुन्न, विष जे गरे नी,
किन खोज्थे अमृत नै, चिनी फेट्ने भए !
तान्यौ वर हात तानी, मेरो मान्छे भन्दै,
हाँस्छु आज तान्यौ किन, खै लखेट्ने भए ?
व्यस्त जीवन
बन्द सडक
र निषेध यात्रा...
जिन्दगीको एउटा छेउ यो,
पेटप्रतिको न्यायमा
निर्विकल्प जोतीईरहनु
विवश डायस्पोरा बाँच्नु
जीवन भोगाईको अर्को पाटो फेरी,
बग्रेल्ती मान्छे जस्ता लाग्ने मान्छेहरुको भिडमा
अन्तहिन जीवनसंघर्ष,भोगचलन र उद्देश्यको
एक चिर्कटो शारांश मेनुफेस्टो
कसैले सुनोस/नसुनोस् - सही
कसैले वास्ता गरोस्/नगरोस् - सही
कसैले खिसीट्यूरी गरोस् - त्यो पनि सही...
आफ्नै एकल रोहवरमा
आफ्नै अघिल्तिर
स-विस्तार प्रस्तुत गर्न चाहन्छ
मेरो युग द्रष्टा मन !
यद्यपी, यतिबेला ,-
थुप्रै जिउँदा लाशहरुको किनारमा उभिएर
मेरो भोको पेट कुतकुती लाउँछ
मेरो नाङ्गो आङ कुरिकुरी गर्छ
तर नबिन ईतिहासको खाका कोर्ने मेरा हातहरु
उत्साहको चारकोशे क्षितिज ताकिरहेकाछन्