अबको ताली बरी जो मधेस जाने सम्भावनामा थिई त्यो बरी मेरो स्थितिअघि व्यङ्ग्य, उपहास, एक्लोपना र रित्तोपना भएर आइन । अब ऊ मधेस जानुका कुनै पीर छैन, यसकारण कि म एक कदम पनि धृष्ट हुन सकेँ भने उसलाई रोक्न सक्छु । अब म खास समस्याहरूबीच आफैं गाँठो पर्न थालें ।
बरीलाई केही भइहाल्यो भने शिवराजले आत्महत्या गर्नेछ, जब यो विचार मस्तिष्कमा दोहोरिन्थ्यो अनि म शब्दहीन पशुजस्तै शिवराजको अघि बसेर भुइँ कोतरिरहेको आफूलाई पाउँथें । जीवनभरि अपराधी र निकृष्ट रहेको मलाई बरीले कुनै दिन, कुनै पनि क्षण चिन्ने छैन, यो सम्झँदा आफूलाई एउटा धेरै जिउँदा लाशहरूलाई पचाइसकेको अँध्यारो इनारले आकाशतर्फ सम्झौताको निम्ति हेरिरहेको जस्तो पाउँथें । अझ सबैभन्दा मेरो विवश समस्या त्यही थियो अर्थात् कि कस्तो विवश र दयनीय अवस्थामा पुगेपछि म आवेगको शिकार हुन पुगें र त्यो जो बरीले अमानुषिक सम्झेकी होली मेरो उसप्रतिको कुनै अपराध होइन, पाप होइन । के बरीले कहिले यो रहस्यलाई थाहा पाउने छैन ? पीर लाग्थ्यो, यति त थाहा पाउनुपर्छ बरीले कि म कसरी उसको निम्ति मरेर हिंडेको छु।
नैसर्गिकताको यदि कहीं अस्तित्व भए त्यो त्यही क्षण हो, ईश्वरत्वको पनि कुनै अस्तित्व भए त्यो त्यही क्षणमा गएर समावेश हुनुपर्छ । मैले खुल्न पाउनुपर्छ । मभित्र विरोध भरिएर आयो र निर्णय गरें, म जान्छु स्वीकार गरिदिन्छु । म भन्नेछु बरीलाई ‘बरी ! मलाई एकक्षणको निम्ति बुझिदेऊ, कुनै पनि एउटा कोणबाट हेरिदेऊ, म सन्तोष दिनेछु । बिर्सिदेऊ मैले एकान्त पारेर तिमीलाई छोइदिएको छु, बिर्सिदेऊ । त्यो कुनै मनमा ज्ञान गाड्नुपर्ने घटना होइन, बिर्सिदेऊ हामीमा केही भएकै थिएन । जसरी अरूहरू प्रत्येक सजिलो कोणबाट जीवनका स्थितिहरूलाई लिइदिन्छन् तिमी पनि लिइदेऊ ।
सम्झिदेऊ कि लोग्नेमान्छे, स्वानीमान्छेलाई अतिक्रमण गर्छ, एकान्त पाउनु हुँदैन मौका छोप्छ र मलाई पनि त्यति मात्रै ठानी त्यही सस्तो संस्कारमा मेरो मार्मिक कथालाई गाभिदेऊ, गाभिदेऊ म सन्तोष लिनेछु । कि क्षमा गरिदेऊ मेरो धृष्टतालाई, कि शिवसँगै खुलस्त भएर मलाई अभिशाप देऊ चाहे सास्ती, म स्वीकार गर्न तयार छु । तर बरी ! यो तुवाँलोले फाट्नैपर्छ, यो अन्धकारबाट हामी उन्मुक्त हुनैपर्छ । म अवश्य भन्छु, अवश्य भन्छु, फूलहरू क्रमशः भर्न लागेका थिए; करबलले हाँगासँगको आफ्नो मियादलाई पूरा गर्दै । भर्खर पानी परेर उम्रेको दिनको बिहानी एउटा सफा मनजस्तै आफैंबाट सन्तुष्ट थियो ।
त्यो घर त्यस्तै थियो, त्यो चौर त्यस्तै, ती प्राणघाती सुनगाभाका फूलहरू त्यसरी नै हावामा हल्लिरहेका थिए । सम्झना आयो यही एक चोक्टा जमिनमाथि एउटा अनौठो चित्रकलाजस्तै बिहान धूवाँहरूको माझमा बरीको सुनौलो टाउको देखेको थिएँ, कस्तो जीवनले पूर्ण थियो त्यो दिनको उसप्रतिको रहर र आज कस्तो विवशता हो यो ! बाहिर कोही थिएन, म अन्तिम निर्णयमा पाउन अन्तिम आश्रयको, उही पनि विश्वासमा होइन आशामा आफ्ना बाँच्ने दिनहरू टेकाउन गइरहेको थिएँ ।
मूलढोकामा शिवराजकी भान्सेबाहुनी के गर्न लागेकी थिई कुन्नि, मलाई देख्नासाथ झसङ्ग हुँदै भनी, “काजी । बरी मैयाँको आज बिहान स्वर्गे भयो ।”
त्यसपछि आँसु र किल्किलेको गाँठोसँग शब्द पचाउँदै उसले के-के भनी अनि मैले टाढा भन्ज्याङबाट थर्किंदै आएका जस्तै ती शब्दहरूका सारांश यति बुझें, यति नै सुनें ‘मध्यरातमा बरी मुटुको ढुकढुकी बढेर सुस्त भएकी थिई, कोही डाक्टरहरू समयमा नपाउँदा शिवराजले उसलाई अस्पताल लगेको थियो र आज बिहान उसको स्वर्गे भयो ।’
एकछिन, केवल एकैछिन मलाई आफ्नो गति रोकिएजस्तो लाग्यो । एकछिन मैले केही सोच्न सकिनँ, मस्तिष्क सम्पूर्ण रित्तो भइदियो । स्वाभाविक भइसकेपछि सर्वप्रथम सम्झें सकमबरीको अस्तित्व अब यो संसारमा छैन, डरलाग्दो सत्य । सकमबरीको मृत्यु भइसकेको छ, कठिन वास्तविकता । त्यो अपरिमित दुःखको जड अस्तित्व, जसलाई हटाएर हटाउन सकिन्न, जसलाई अनेक अलङ्कारहरूले सिंगार्न सकिन्न र जसलाई आदर्श भावनाहरूले छोप्न सकिन्न । बरीको मृत्यु एउटा विश्वास, एउटा सत्य । म रन्थनिंदै सुनगाभाहरू झुन्ड्याइएका पर्खालतिर गएँ । कलिला प्याजी फूलहरू हावामा हल्लिरहेको थिए, एउटा चुरुट सल्काएपछि विचार गर्न थालें, ममा अब कुनै समस्या छैन, अब धृष्ट हुनुको मेरो कुनै अर्थ छैन, अब ममा कुनै छटपटी र उकुसमुकुस छैन । मैले सकमबरीलाई मारें । मैले सकमबरीलाई दिउँसै बलात्कार गरें ।
बरी मेरो सत्य प्रेमको आवेगलाई एउटा बलात्कार सिद्ध गरेर मरेकी छ । मेरो इतिहास यस्तै छ । मनमनै भन्न थालें यो बलात्कारलाई प्रेमको उद्वेग मान्न सारा संसार त के, बरी ! म आफैं पनि तयार छैनँ । यस दुःखद जीवनको अन्त मृत्यु हो र त्यसपछि हाम्रा भावनाहरूको कुनै पनि अस्तित्व छैन, हामी एक-अर्कामा स्पष्ट हुन सकेनौं र कहिल्यै सक्तैनौं पनि । यस जीवनको पछि एउटा महाशून्य छ, अब केही पनि चिताउन्न, सब निरर्थक छन् । तिमी एउटा अन्धकारमा निसास्सिएर मर्यौ र कुन दिन म पनि मर्छु, यही हो तिम्रो र मेरो जीवनको मूल्य ।
मेरी सकमबरी ! एक दिन खूब फूर्ति लगाएर भन्थ्यौ कि जीवघाती सुनगाभाको जस्तो तन्तु राख्नुपर्छ, खोइ आज तिमीले के गयौ ? बरु राखेकी छु भन्ने विश्वासमा तिमीले मलाई मारेकी भए हुने । मलाई किन मार्न सकिनौ ? त्यो पनि कत्रो आइरोनी थियो तिम्रो र मेरो जीवनको । आज त तिम्रा यी सुनगाभाका पातहरू मेरो आँखामा, ओठओठमा टाँसेर लगूँजस्तो लाग्छ । निस्सार जन्मेकी तिमी, तिमीले मलाई पनि निस्सार छोडिराख्यौ ।
अब तिमी शिवलाई आत्महत्या गर्न बाध्य गराउने भयौ । मेरी सकमबरी ! अब मलाई शरीरभरि खोपेर हिंड्न मन लागेको छ, जीवन असफलता हो, यो जीवन दुर्भाग्य हो, मानिस यसै पनि दुःखी छ, उसै पनि दुःखी छ, सधैंको रित्तो हात, रित्तो मन फर्कन अभ्यस्त मान्छे म रित्तै फर्कें । शिरीषका रित्तिएका हाँगाहरू आफ्नो रित्तोपनालाई स्वीकार गरेर उभिएका थिए । धूवाँको गुजुल्टोभित्र एउटा सुनौलो टाउको, दुई निकोटिनले पहेंलिएका औंलाहरू सजीव झैं मेरो अघिअघि गइरहेका थिए । एउटा कार्टुन शरीर आफ्नो सानो गर्धन देखाएर हिंडिरहेको र म कैला रौंहरूलाई खेलाउने रहरसँग एउटा सिङ्गो मानिसको सम्पूर्ण मानसिकता हराएर, नपाएर फर्किरहेको थिएँ । मेरा क्षणहरू हुनसक्छ घस्रिरहेका थिए तर छिटो-छिटो म हिंडिरहें ।
० ० ० ०